पर्यटनमा २५ अर्बको क्षति,होटलहरुले मासिक १ अर्ब ८० करोडको व्यापार गुमाइरहे

काठमाडौँ — कोरोनाको महामारीबाट जटिल अवस्था नफैलिएको भए यति बेला नेपाल २० लाख पर्यटक उतार्ने अभियान ‘भ्रमण वर्ष २०२०’ मनाइरहेको हुन्थ्यो । नेपालको अर्थतन्त्रलाई उथलपुथल पार्ने भनिएको सरकारको यो महाअभियानलाई साथ दिन अघिल्लो वर्षको दाँजोमा ८ लाख बढी पर्यटक ल्याउन देशभरका १ सय २९ तारे होटल यति बेला ‘फुल अकुपेन्सी’ मा चलिरहेका हुन्थे होलान् । तीसँगै पर्यटक स्तरीय ११ सय २५ वटा होटल पनि पर्यटकले भरिभराउ हुने थिए ।

तर दुर्भाग्य चैतयता नेपालको पर्यटन बजार सुनसान छ । पर्यटन विभागका अनुसार २६ सय ट्रेकिङ एजेन्सी बन्द छन् । झन्डै २० हजार टुर तथा ट्रेकिङ गाइड लकडाउनले घरभित्रै बस्न बाध्य छन् । ३ सय २४ वटा होमस्टेमा अतिथि छैनन् । ७३ वटा र्‍याफ्टिङ एजेन्सीले आफ्ना राफ्ट (डुंगा) लाई गोदाममा थन्क्याएका छन् । नेपालमा पर्यटक ल्याउने ७ वटा जेट विमानसहित आन्तरिक उडान गर्दै आएका ५१ वटा जहाज ह्यांगरमा थन्किएका छन् । पर्यटकको उद्धार तथा चार्टर उडानमा जाने १० वटा हेलिकप्टर कम्पनीका ३३ वायुयानले पनि काम पाएका छैनन् । खासमा यी सबैको यतिबेला मुख्य व्यापारको सिजन हो ।

‘२ लाख ७२ हजार मानिस कामविहीन भएको हाम्रो अनुसन्धानले देखायो,’ नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले भने, ‘प्रत्यक्ष पर्यटन क्षेत्रको रोजगारीमा रहेका १ लाख ७५ हजार कर्मचारी–कामदार तथा सिजनमा मात्रै आबद्ध हुने ९७ हजार मानिसको तथ्यांक हो यो ।’ गत वर्ष नेपाल भम्रणमा आएका पर्यटकको संख्यासँग मात्रै दाँज्दा यो वर्ष कमी भएको ४ लाख पर्यटकका कारण कति घाटा भयो, यकिन तथ्यांक भन्न सकिने अवस्था छैन । तर बोर्डले हालै सरकारको निर्देशनअनुसार गरेको अनुसन्धानले २५ अर्ब हाराहारीको व्यापार कमी भएको देखाएको छ ।

‘यो वर्ष पर्यटनमा कति क्षति भनेर यकिन भन्न सकिने अवास्था छैन । किनकि महामारीको असर जारी छ । लकडाउन कायमै छ । सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द छ,’ सीईओ रेग्मीले भने, ‘तर नेपाल आउने पर्यटकको औसत बसाइ र खर्चका आधारमा २५ अर्ब ९० करोड हाराहारीको व्यापार गुमेको देखिन्छ ।’

नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीबारे विभिन्न निकायका आआफ्नै तथ्यांक छन् । एउटाको तथ्यांक अर्को निकायसँग मिल्दैन । तर यी सबैको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वर्षमा पर्यटन क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जनमा टेवा पुर्‍याएको अनुमान गरेको छ । जसमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० मानिस योसँग जोडिएको उसले बताएको छ ।

पर्यटनमा सबैभन्दा धेरै लगानी भएको र विदेशी मुद्रा बढी आर्जन गर्नेमा होटल क्षेत्र पर्छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार तारे होटलसहित मुख्य होटलहरुले मासिक १ अर्ब ८० करोडको व्यापार गुमाइरहेका छन् । संघले हालै आफ्ना ३ सय ५० सदस्य होटलमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी होटल क्षेत्रमा देखिन्छ । यसमा करिब १० खर्ब रुपैयाँ निजी क्षेत्रले लगानी गरेका छन् । जसमा आधाभन्दा बढी लगानी बैंक तथा वित्तीय संस्थाबाट भएको छ । होटलले कारोबार गुमाउँदा बैंक तथा वित्तीय संस्थाको आम्दानीमा समेत नकारात्मक असर पुग्ने देखिन्छ । नेपालका होटलको प्रतिदिन ६ हजार ५ सय अतिथिलाई सत्कार गर्न सक्ने क्षमता छ । अर्थात् वर्षमा २५ लाख पर्यटक नेपालका होटलले थेग्न सक्छौं भन्छन् ।

त्यस्तै हेलिकप्टर र जहाज गरी २१ वटा आन्तरिक वायुसेवा कम्पनी रहेको नेपाली हवाई उद्योगले पनि यतिबेला मासिक १ अर्ब हाराहारीको कारोबार गुमाइरहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । यसमा जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानबाट आम्दानी समेटिएको छैन । यो क्षेत्रमा पनि निजी क्षेत्रले १२ खर्ब रुपैयाँ लगानी गरेको अनुमान छ ।

कोरोनाका कारण पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने बोर्डका सीईओ रेग्मीले बताए । तर चालु आवको अन्तिम चार महिनालाई मात्रै हेर्दा पर्यटन आगमन बन्द भएकाले करिब २५ अर्ब ९० करोड रुपैयाँको व्यापार गुम्ने देखिन्छ । यो अघिल्लो वर्ष नेपालमा आएका पर्यटकको आगमनसँग यस वर्षको आगमनलाई तुलना गर्दा देखिएको व्यापार घाटा मात्रै हो । पर्यटन बोर्डका अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ४ लाख पर्यटक घटे । ‘१२ लाख गत वर्ष आएका थिए, यस वर्ष ८ लाख मात्रै आए,’ रेग्मीले भने, ‘४ लाख पर्यटन नआउँदा उक्त व्यापार गुमेको हो ।’ तर पर्यटन क्षेत्रमा कोरोना भाइरसको प्रभावका कारण कति क्षति भइरहेको छ भन्ने तथ्यांक यकिन आइसकेको छैन ।

राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन गरिरहेका छन् । तर यी दुवै निकायले भनेका छन्, ‘सरकारलाई नीति तथा कार्यक्रम बनाउने उद्देश्यले हामीले अनुसन्धान गरिरहेका छौं । तर तत्काल अध्ययन सार्वजनिक गर्दैनौं ।’

कोरोना भाइरसको प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा भइरहेको क्षतिको आकलन गर्न कठिनाइ भएको तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए । नेपाल जस्तै विकासोन्मुख मुलुकमा पर्यटन क्षेत्रको आर्थिक योगदान निकाल्न छुट्टै ‘टुरिजम–स्याटलाइट एकाउन्ट’ प्रणाली अपनाइएको हुन्छ । नेपालमा पनि यो प्रणाली अपाउन तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै पालामा घोषणा भएको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

पर्यटन क्षेत्रअन्तर्गत यस वर्ष नेपालमा पर्यटक आगमन झन्डै १४ प्रतिशत ऋणात्मक भएको तथ्यांक विभागले जनाएको छ । यो भनेको घाटा हो । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा पनि यस वर्ष होटल तथा रेस्टुरेन्टको योगदान १६ प्रतिशत ऋणात्मक हुने विभागको भनाइ छ ।

पर्यटन बोर्डले यो ऋणात्मक अवस्थाबाट पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न २० अर्ब रुपैयाँको कोष स्थापना गर्न सरकारलाई सुझाइसकेको छ । जसमा १० अर्ब हवाई क्षेत्र र बाँकी १० अर्ब होटल, ट्राभल, ट्ेरकिङलगायत क्षेत्रका लागि मागिएको छ । यसबाहेक वित्तीय सहुलियतअन्तर्गत ऋणमा तीन वर्षको अवधि थपेर पुनर्तालिकीकरण गरिनुपर्ने, कर मिनाहा, मूल्य अभिवृद्धि कर, दस्तुरलगायतमा छुट दिइनुपर्ने भनेको छ ।

यस्तो छ अवस्था

– १ सय २९ तारेमध्ये एक/दुईबाहेक सबै होटल बन्द

– २६ सय ट्रेकिङ एजेन्सी ठप्प

– झन्डै २० हजार टुर तथा ट्रेकिङ गाइड बेरोजगार

– ३ सय २४ वटा होमस्टेमा अतिथि छैनन्

– ७३ वटा र्‍याफ्टिङ एजेन्सी ठप्प

– ७ वटा जेट विमानसहित आन्तरिक उडान गर्दै आएका ५१ वटा जहाज थन्किए

– १० वटा हेलिकप्टर कम्पनीका ३३ वायुयान पनि कामविहीन

राष्ट्र बैंकको प्रारम्भिक अध्ययन प्रतिवेदनले पनि लकडाउनका कारण पर्यटन क्षेत्रमा मात्र करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति (नोक्सान) भएको बताएको छ । लकडाउनको अवधि कतिसम्म रहन्छ, त्यसपछि पनि होटल तथा रेस्टुरेन्ट तत्काल सञ्चालन हुन सक्ने अवस्था आउँछ/आउँदैन भन्ने आधारमा क्षति बढ्न सक्ने अध्ययनको निष्कर्ष छ ।

कोभिड–१९ भाइरसको संक्रमणले नेपाली अर्थतन्त्रमा पर्न सक्ने असर र आवश्यक नीतिगत उपाय सम्बन्धमा राष्ट्र बैंकले अध्ययन गरेको थियो । अध्ययन कार्यदलले आइतबार गभर्नरसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको छ । त्यसका आधारमा राहत तथा सुविधाका लागि आवश्यक नीतिगत व्यवस्था गरिने बताइएको छ ।

अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये कोरानाका कारण उत्पन्न संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन हो । अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा राष्ट्र बैंकले अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलमा राष्ट्र बैंक नियमन, सुपरभिजन, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणाली विभागबाट एक/एक जना र बैंकर्स एसोसिएसनका अध्यक्ष सदस्य थिए ।

लकडाउनपछि पर्यटन क्षेत्रलाई लक्ष्य गरी राष्ट्र बैंकले ब्याज छुट, किस्ता भुक्तानी म्याद थपलगायत विभिन्न सुविधा दिएको छ । पछिल्लो पटक चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम गरी चौथो त्रैमास (असारसम्म) को ब्याज भुक्तानी गर्न सकिने व्यवस्था ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले चैतसम्मको ब्याजमा ३ प्रतिशत छुट पाउनेछन् । यो खासगरी साना तथा मझौला व्यवसाय (एसएमई) लाई लक्षित व्यवस्था हो ।सुरज कुँवर /कान्तिपुर


Facebook Comment


No ads found for this position