रत्नपार्कमा तीन महिनामै १ लाख १८ हजार आगन्तुक

८ कात्तिक, काठमाडौं । काठमाडौंको मध्यभागमा रहेको रत्नपार्कमा ३ महिनाको अवधिमा झण्डै १ लाख १८ हजार आगन्तुक प्रवेश गरेका छन् ।

गत साउन महिनादेखि असोज सकिँदासम्म रत्नपार्कभित्र टिकट काटेर प्रवेश गर्नेको संख्या १७ हजार ८ सय ८७ रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । पछिल्लो समयमा रत्नपार्कमा प्रवेश गर्नेको संख्या बढ्दो छ ।

रत्नपार्कमा सपरिवार केही समय बिताउनका लागि जाने क्रम बढ्दा पनि आगन्तुकको संख्यामा उल्लेख्य वृद्धि देखिएको महानगरपालिकाले जनाएको छ ।

ratnaparkपार्कको आम्दानी

गत तीन महिनाको अवधिमा रत्नपार्कले २७ लाख ३२ हजार ८ सय रुपैयाँ आम्दानी गरेको महानगरपालिका रत्नपार्क-रानीपोखरी इकाइ प्रमुख हरिशरण केसीले जानकारी दिए । उनकाअनुसार यो वर्ष रत्नपार्क प्रवेश गर्नेको संख्या निकै बढेको छ ।

‘काठमाडौंको मुटुमा अवस्थित रत्नपार्क शान्त ठाउँमा छोटो समय बिताउनेका लागि उत्कृष्ट गन्तब्य भएको छ’ केसीले भने ।

२०७१ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनका समयमा रत्नपार्कलाई मर्मत सम्भार गरेर सःशुल्क प्रवेशको व्यवस्था मिलाइएको हो । त्यसपछि निरन्तर रत्नपार्कमा आगन्तुकको संख्या बढ्दो छ ।

रत्नपार्कमा धेरैजसो स्वदेशी आगन्तुकको संख्या ठूलो छ । बितेको तीन महिनाको अवधिमा ३० हजार भन्दा बढी विद्यार्थी पनि रत्नपार्कमा आएका छन् ।

तीन महिनाभित्रमा ३ सय ७४ जना तेस्रो मुलुकमा पर्यटकले पनि रत्नपार्कको अवलोकन गरेर समयम बिताएको श्रेष्ठले बताए ।

आकर्षणमा फ्री वाइफाइ

पछिल्लो समयमा रत्नपार्कभित्र फ्री वाइफाइको सुविधा दिइएकाले घुम्न जानेको संख्या निकै बढेको छ । रत्नपार्कलाई मर्मत सम्भार गरेर व्यवस्थितरुपमा सञ्चालन गरेपछि इन्टरनेट चलाएर बस्न मिल्ने शान्त ठाउँ बनेको छ ।

२५ रुपैयाँको टिकट काटेर रत्नपार्कभित्र छिर्नासाथ फ्री  वाइफाइको पासवर्ड उपहार स्वरुप पाइन्छ । यस्तै शान्त वातावरणमा अध्ययन गर्न चहानेहरुले पनि रत्नपार्कलाई रुचाएका छन् । पार्कभित्र बसेर इमेल गर्नेदेखि च्याटिङ, इन्टरनेट ब्राउजिङ, फोटो तथा भिडियो अप्लोलोडिङ, डाउनलोडिङलगायत गर्न पाइने भएपछि आगन्तुकको आकर्षण बढेको हो ।

रत्नपार्कमा बिदाको दिनबाहेक २ एमबीपीएसको इन्टरनेट चलाउन सकिन्छ । शनिबार र सार्वजनिक बिदाको दिन भने ४ एमबीपीएसको इन्टरनेट छ । यहाँ २ सय ४० जनाले एकै पटक फ्री  वाइफाइको सुविधाका उपयोग गर्न सक्छन् ।

‘विभिन्न सुविधा थपेपछि आगन्तुकहरु पनि तानिएका छन्’ एकाइ प्रमुख केसीले भने’अब समय-समयमा लाइन जाँदा इन्टरनेट सेवा रोकिने समस्या हल गर्न इन्भर्टर जोड्ने तयारीमा छौं ।’

उनले वाइफाइको स्पीड पनि बढाउनेबारे छलफल भइरहेको बताए ।

‘सुटिङ स्पट’ पनि

रत्नपार्क पछिल्लो समयमा भिडियो सुटिङ गर्नेहरुको रोजाइमा पनि परेको छ । यसबाट महानगरपालिकाले राम्रो आम्दानी गरिरहेको छ । पछिल्लो समयमा रत्नपार्कभित्र म्युजिक भिडियो सुटिङ हुने क्रम निकै बढेको केसीले बताए ।

यसैगरी टेलिचलचित्र र चलचित्रको सुटिङ पनि रत्नपार्कभित्र भएका छन् । महानगरपालिकाले पार्क म्युजिक भिडियो सुटिङका लागि ४ हजार, टेली चलचित्रका लागि ५ हजार, चलचित्रका लागि ७ हजार र विदेशी चलचित्रका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ ।

तीन महिनfको अवधिमा महानगरपालिकाले सुटिङ गर्नेहरुबाट ६७ हजार रुपैयाँ शुल्क उठाइसकेको छ ।साभार अनलाइनखबर


Facebook Comment


No ads found for this position