सबै पर्यटन दूतहरू खारेज, अब जिम्मेवार व्यक्तिलाई चाँडै नियुक्तिः रेग्मी

काठमाडौं–विदेशमा नेपालको छवि उजागर गर्न पर्यटकीय हिसाबले नेपाललाई चिनाउन सरकारसँगको समन्वयनमा नियुक्त भएका वेदेशस्थित पाँच दर्जन भन्दा बढी पर्यटन अवैतनिक दूतहरूको कार्यावधि सकिएसँगै नयाँ दूत नियुक्त गर्ने तयारी गरिएको छ ।

यस्ता दूतहरु विदेशमा बसेका व्यवसायीक तथा ख्याती कमाएका नेपाली भाषी विदेशलाई नियुक्ति दिने गरिन्छ । तर, उनीहरुले आफ्नो भूमिका निर्वाह गर्न नसकेको र सबैको नियक्ति सकिएसँगै अब नयाँ ढंगले जिम्मेवार व्यक्तिलाई नै पर्यटन अवैतनि दूत नियुक्ति गर्ने पर्यटन बोर्डले तयारी गरेको छ ।
सम्बद्ध मुलुकको नेपाली कूटनीतिक नियोगको सिफारिसमा नेपाल पर्यटन बोर्डमार्फत नियुक्त भएका यी सबै दूतहरू कि त ‘बेखबर’ (नो रिपोर्ट्स) देखिएका छन् अथवा सबैजसो ‘निष्क्रिय’ (नट एक्टिभ) देखिएका छन्।

नियुक्ति हुँदाको सेवासर्तमा यस्ता अवैतनिक दूतहरूले हरेक चार महिनामा सम्बद्ध नेपाली नियोग र पर्यटन बोर्डसमेतमा प्रगति रिपोर्ट बुझाउनुपर्नेमा वर्षौंदेखि यस्तो प्रतिवेदन कहींकतै पनि बुझाइएको छैन। गत महिना काठमाडौंस्थित एक जना अवैतनिक महावाणिज्यदूतले कूटनीतिक अग्राधिकारको धाकधम्की देखाएर कालोबजारीको काम गरेपछि सबै तह–तप्काका ‘अवैतनिक’ हरूमाथि प्रश्नचिह्न उब्जिएको हो।

‘यो पद र नियुक्तिको त्यति उपयोग देख्न नसकिएको अनुभव भएको छ,’ नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले भने, ‘यसअघि नियुक्त भएका सबैजसो दूतहरूको कार्यकाल सकिएको देखिन्छ। त्यसमाथि कार्यसम्पादन मूल्यांकनका आधारमा कोही पनि उपयुक्त नदेखिएको अवस्था छ।’

पदका आधारमा नेपालको चिनारीभन्दा बढी आफ्नै हकहितमा काम गरिरहेको र कुनै प्रभाव–पहुँचका आधारमा मात्रै अवैतनिक पदमा बसिरहेको स्थितिसमेत देखापरेकाले सबै मुलुकका अवैतनिक पर्यटन दूतको नियुक्ति खारेजी गर्ने प्रक्रिया अघि बढिसकेको कार्यकारी निर्देशक रेग्मीले बताए ।

धनन्जय रेग्मी
कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड

पर्यटन बोर्डले उपलब्ध गराएको यस्ता दूतहरूको अन्तिम सूचीमा अमेरिकामा अहिले पनि आफूलाई पर्यटन दूत भनेर दाबी गर्दै हिँड्ने ज्ञानप्रसाद रिमाल (बाल्टिमोर), प्रभा देउजा (बाल्टिमोर), जगदीश काफ्ले (टेक्सास), नीलबहादुर तिलिजा (सियाटल), नवीना बस्नेत आदिको नामसमेत छैन। बलराम घिमिरे (सिकागो), राजा घले (जर्जिया), प्रकाश थापा (क्यालिफोर्निया), प्रदीप श्रेष्ठ (न्युयोर्क), सबु गदाल कार्की आदिको पदावधि दुई वर्षअघि नै पूरा भएको छ।

पर्यटन बोर्डले उनीहरूको नाम सूचीमा ‘अवधि पूरा भएको र बेखबर’ भनेर टिपोट गरेको छ।
यसैगरी भारतमा दिल्ली, मुम्बई, कोलकातालगायतका सहरमा केही स्थानीय पर्यटन व्यवसायीले आफूलाई नेपालको पर्यटन दूतका रूपमा चिनाउँदै दिल्लीको दूतावास र कोलकाताको महावाणिज्य दूतावास कार्यालयमा बेग्लै कार्यकक्षसमेत माग गरेको सूचना परराष्ट्रमा आएको थियो।

जबकि भारतका लागि नेपाल पर्यटन बोर्डले एक जना पनि दूत नियुक्त गरेको छैन। जापान, कतार, दक्षिण कोरिया, फ्रान्ससहितका मुलुकमा पनि नाम मात्रैका पर्यटन दूत सक्रिय रहिआएका छन्।
पदावधि सकिएर नेपाल पर्यटन बोर्डले ‘निष्क्रियरबेखबर’ भनिसक्दा पनि नीलमणि थपलिया (पर्थ), बद्री अर्याल र स्वतन्त्रप्रताप शाह (क्विन्स्ल्यान्ड) ले आइपरेका बेला पर्यटन दूत भनेरै चिनाइरहेका हुन्छन् ।

यता युरोपका स्वीडेन, डेनमार्क, पोर्चुगल, नर्वे, स्विट्जरल्यान्डमा पनि औपचारिक रूपमा दूत कोही छैनन् । तर, नेपाल भ्रमण वर्ष, राष्ट्रिय दिवसहरूका औपचारिक भेलामा आफूलाई दूत भन्दै हिँड्नेहरू भेटिन्छन्।

एउटा पर्यटन दूतले नेपाल सरकारको पर्यटन लोगो, औपचारिक लेटर प्याड प्रयोग गर्न पाउने भनिए पनि कतिपय मुलुकमा दूतहरूले आफूखुसी नेपालको झन्डासमेत प्रयोग गर्ने गरेकोबारे युरोपेली मुलुकमा रहेका केही कूटनीतिक नियोगमा हालै सूचना आएको थियो। कार्यकारी निर्देशक रेग्मीका अनुसार इटालबाहेक अन्य सबै देशमा अवैतनिक दूतहरुको पदावधि सकिएको हो ।

‘कतिपयले अझै कार्ड देखिएका हिँडिरहेका छन् । उनीहरुको काम खासै देखिएन । त्यसैले अब नयाँ प्रावधानअनुसार दूत नियुक्ति गर्ने तयारी गरेका छौं,’ घुमफिर डटकमसँग टेलिफोनमा कुराकानी गर्दै निर्देशक रेग्मीले भने । केही सुविधा नपाउने भए पनि नेपालको अवैतनिक दूत भनेपछि केही मूल्य हुने उनले बताए । तर हाल दूत भनेर आफूलाई चिनाइरहेकाहरुले त्यसको महत्व बुझ्न नसकेको निर्देशक रेग्मीको भनाइ छ ।

भूमिका दिइनुपर्छः पूर्व कार्यकारी निर्देशक जोशी

दीपकराज जोशी
पूर्व कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड


यता पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक दिपकराज जोशी यस्ता अवैतनिक दूतहरुलाई केही भूमिका दिनुपर्ने बताउँछन् ।

‘पर्यटन बोर्ड गठन अनुअघि नै यस्ता दूत नियुक्ति गर्ने प्रचलन थियो । त्यसैले पछि निरन्तरता पाएको हो । मेरो पालमा सम्बन्धित दूतावासको सिफारिस अनिवार्य गरेका हौं । तर, हामी हुँदा कसैलाई पनि नियुक्ति गरिएन,’ उनले भने, ‘तर अब भने उनीहरुलाई चिन्ह, लेटरप्याड प्रयोग मात्र होइन, केही भूमिका पनि दिइनुपर्छ ।’

केहीले काम गरे पनि अधिकांशले देश भन्दा पनि आफूलाई चिनाउने काम गरेको जोशीको भनाइ छ । अबदेखि जिम्मेवार र देशका लागि साँच्चिकै योगदान दिनसक्नु भन्ने व्यक्तिलाई दूतका रुपमा नियुक्त गर्नुपर्ने बताउँछन् जोशी ।

यी हुन अवैतनिक पर्यटन दूतहरु

याे पनि पढ्नुहाेस् : यस्ता छन् लकडाउनपछि नेपाल पर्यटन बोर्डका योजना


Facebook Comment


No ads found for this position